काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । पार्टीका तीनवटै अध्यक्षबीचको छलफलमा चुनाव चिह्न हलो राख्ने सहमति भएको हो ।
राप्रपा र राप्रपा संयुक्तबीच ६ महिनाअघि एकता भएको थियो । यद्यपि, चुनाव चिह्नका बारेमा पार्टीमा सहमति जुट्न सकेको थिएन । अध्यक्ष कमल थापा चुनाव चिह्न गाई तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी हलो राख्नुपर्ने अडानमा थिए ।
दुई पार्टी एकता हुँदा तयार पारिएको आधारपत्रमा डेढ वर्षभित्रमा एकता महाधिवेशन गर्ने भनिए पनि चुनाव चिह्नका विषयमा सहमति हुन नसक्दा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्तासमेत हुन समेत बाँकी रहेको थियो ।
अध्यक्ष थापाले पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भएकाले सहमति गर्नुपरेको बताउनुभएको छ ।
थापाले अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लाग्न पनि आह्वान गर्नुभएको छ ।