काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ ।आजै शपथ ग्रहण गराउने लक्ष्य राखेको भएपनि केही मन्त्रालय मिलाउन बाँकी रहेका कारण यो काम भोलि पनि हुन सक्ने उहाँले बताउनु भएको छ ।
आज भरतपुर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै प्रचण्डले भन्नुभयो, एक, दुई वटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । अरु काम त टुंगेको छ । त्यसैले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने पनि भोलि बिहान होला ।’
पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरे पनि त्यसलाई सञ्चालनमा ल्याउन केही समस्याहरु रहेको र छिमेकी देशको भ्रमणमा जाँदा यी विषय उठाउने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
आफु भारत भ्रमणमा जाँदा नेपालको एयर रुटसँग सम्बन्धित विषय र लुम्बिनीमा सहज हवाई सेवा सञ्चालन गर्ने विषय प्रथामकिताका साथ उठाउने तयारी गरेको पनि प्रधानमन्त्री प्रचण्डले सो अवसरमा जानकारी गराउनु भएको छ । भरतपुरमा नयाँ सुविधा सम्पन्न टर्मिनल भवन बन्दै छ ।