काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरूको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रिय सभामा टेबल भएको विधेयकबारे सार्वजनिक रुपमा विवाद भइरहँदा सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न फुलकोर्ट बैठक बोलाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले दिउँसो ४ बजेका लागि फुलकोर्ट बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पोखरेलका अनुसार ४ बजे फुलकोर्ट बैठक बस्नेछ ।
चैत ५ गते राष्ट्रिय सभाका सत्तापक्षका सांसदहरूले नेतृत्व गर्दै राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गैर सरकारी विधेयक दर्ता गराएका थिए । उक्त विधेयक राष्ट्रिय सभामा टेबल समेत भएको छ । राष्ट्रिय सभामा विधेयक टेबल भएसँगै यसको आलोचना पनि सुरु भएको छ ।
नयाँ विधेयकले विगतमा भएको आलोचनालाई सच्याउनुको साटो अझै तल्लो मर्यादाक्रममा प्रधानन्यायाधीशलाई राखिएको छ । प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल्लो वरीयतामा राखिएको छ । नयाँ विधेयकले कानुनको रूप लिएमा प्रधानन्यायाधीश पाँचौँ स्थानको मर्यादाक्रममा हुनेछन् । तर उक्त कार्य नेपालको संविधान २०७२ समेत विपरीत हुने र राज्यका तीन अंगमध्ये कार्यपालिकापछि रहेको न्यायपालिकाको प्रमुखलाई व्यवस्थापिका प्रमुखभन्दा तल्लो वरीयतामा राख्ने प्रस्तावमा सर्वोच्चले असन्तुष्टि जनाएको छ ।
विधेयकको व्यवस्थाबारे सार्वजनिक सञ्चार माध्यममा चर्चा भएसँगै सर्वोच्चका न्यायाधीशहरूले हिजो प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले फुलकोर्ट बैठक राखेर आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने कुरा प्रधानन्यायाधीशलाई राखेका थिए ।