काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धन गर्न आफू लाग्ने बताउनुभएको छ । साथै शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्याउन आफ्नो भूमिका रहने बताउनुभयो ।
शुक्रबार(आज) उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताउनुभयो।
उहाँले आफू संविधान, ऐन र कानुन बमोजिम काम गर्ने बताउनुभयो । उपराष्ट्रपतिको काम, कर्तव्य र अधिकार बमोजिम इमानदारीपूर्वक जनताको हितमा काम गर्ने उहाँको भनाइ छ।
शान्ति प्रक्रियाका कामहरू निष्कर्षमा पुर्याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने पनि उहाँको प्रतिबद्धता थियो ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउन भूमिका खेल्ने जनता र सांसदहरूप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।