काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन भने बाँकी नै छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा आज बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।
पहिलो : अहिलेका सबै मन्त्रीलाई हटाउने, दोस्रो : सुरुमा मन्त्री भएकाहरुलाई हटाउने र तेस्रो : केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने ओलीले पेश गर्नुभएका विकल्प हुन् ।
बैठकमा अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राखेका छन् । राम्रा काम गरेकाहरुलाई निरन्तरता दिनुपर्ने तर धेरै नयाँ राख्नु उपयुक्त हुने धारणा अध्यक्ष प्रचण्डको रहेको सचिवालय सदस्य खनालले जानकारी दिनुभयो ।
वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाशलगायतले पनि सबैलाई हटाउनुभन्दा राम्रा काम गरेका र योग्यलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको सञ्चारकर्मीहरुलाई जानकारी दिनुभएको छ ।
अर्का एक सचिवालय सदस्यले भने, ‘मन्त्रिपरिषद् पुनगर्ठन दशैं अगाडि नै हुनसक्छ, र पछि पनि धकेलिनसक्छ । यो सचिवालयको छलफल कति लम्बिन्छ भन्नेमा निर्भर हुन्छ ।’
साथै मन्त्री छनोटका लागि दुई अध्यक्षका साथै सचिवालय सदस्यहरुसँग पनि छलफल हुने बताइएको छ ।