काठमाडौं । नेकपाका प्रभावशाली नेता डा भिम रावलले प्रतिनिधि सभामा पराजीत व्यक्तिलाई मन्त्री बनाउन मिल्ने वा नमिल्ने बारेमा दुई अर्थ लाग्ने बताउनु भएको छ ।
अधिवक्ता र तत्कालिन संविधान सभाका सदस्य समेत रहनु भएका नेता रावलले भन्नुभयो, “शब्द हेर्दा पराजीतलाई पनि मन्त्री बनाउन मिल्छ, तर मर्म चाहिं त्यस्तो हैन । ”
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा उहाँले संविधान बनाउँदा हारेकालाई पनि मन्त्री बन्न मिल्ने आशय दिन नखोजिएको स्पष्ट पार्नुभयो ।
विगतमा निर्वाचनमा पराजीत भएका व्यक्तिहरु पनि मन्त्री हुने र जनताप्रति उत्तरदायी नहुने प्रबृत्तिलाई निरुत्साहित गर्न प्रतिनिधि सभामा पराजीत व्यक्ति मन्त्री हुन नमिल्ने व्यवस्था राखिएको उहाँको भनाई छ ।
उहाँले गौतमलाई मन्त्री बनाउने सम्वन्धी निर्णय गर्ने ठाउँमा आफु नभएकाले कुनै आफ्नो धारणा राख्न आवश्यक नभएको तर्क गर्नुभयो ।
त्यसैगरी डा. गोविन्द केसीको अनसनका बारेमा पनि उहाँले केही बताउन चाहनु भएन । यस्ता विषयको सम्वोधन सरकारले गर्नु पर्ने धारणा राख्दै उहाँले डा केसीको अनसनप्रति समर्थन गर्न नसकेको र विरोध गर्न डराएको आशय व्यक्त गर्नुभयो ।
चीनले नेपालसँग उच्च राजनीतिक सम्बन्ध र लगानी बढाउँदै आएपनि सामान आयात–निर्यातमा भने सीमानाका बन्द गरेर असहयोग गरेकोप्रति भने उहाँले आपत्ति जनाउनुभयो ।
सम्वन्धीत मन्त्रीले के हेरेर बसेका छन् भनेर प्रश्न गर्दै उहाँले चीनसँग तत्काल वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।