काठमाडौं । विभिन्न माग राखेर जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ । सत्याग्रही डा. केसीका माग पूरा गर्नुपर्ने भन्दै आज दिउँसो माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘गोविन्द केसीको माग पूरा गर’, ‘गोविन्द केसीको जीवन रक्षा गर’ आदि लेखिएका प्लेकार्ड बोकेका थिए ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले गत सोमबारदेखि जुम्लामा १९ औँ अनसन सुरु गर्नुभएको हो ।
डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र तथा तानाशाहीतन्त्रविरुद्ध १९ औँ सत्याग्रह सुरु गरेको बताउनुभएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उहाँले माग गर्नुभएको छ ।
योभन्दा अगाडिको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफू अनसन बस्न बाध्य भएको डा. केसीको भनाइ छ ।