Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

सडक नभएको ठाउँमा पुल बनाउने प्रदेश मन्त्रालयका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

सडक नभएको ठाउँमा पुल बनाउने प्रदेश मन्त्रालयका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

  • आइतवार, फाल्गुण १४ २०७९

  • 405
    SHARES

  • सडक नभएको ठाउँमा पुल बनाउने प्रदेश मन्त्रालयका सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
    काठमाडौं । गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र महरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।
     
    भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
     
    गोरखा नगरपालिकाको जरेबरमा नारेश्वर जोड्ने गरी बनेको पक्की पुल दुबैतर्फ सडक नभएको ठाउँमा थियो । सडक नै नभएको ठाउँमा पुल बनाएर नागरिकले तिरेको करको दुरुपयोग गरेको भन्दै अख्तियारमा उजुरी परेपछि छानबिन अघि बढेको थियो ।
     
    त्यस क्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानुन विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरेको कार्य भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।
     
    अख्तियारले प्रदेश सडक निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि गुरु योजना, ग्रामीण सडक, सहरी सडक वा कुनै रणनीतिक सडकमा नपर्ने काल्पनिक सडकको नाम दिई खोलामा पुल बनाइएको भन्दै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार बिगो माग दाबी गरेको छ ।
     
    अख्तियारले पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजन ल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियत पूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ । उनीमाथि काल्पनिक सडकको नाम दिई सार्वजनिक वनक्षेत्रको जथाभाबी प्रयोग गरी बाटो बनाएर राज्यको सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएको छ । अनि गैरकानूनीरुपमा सरकारी वनको नोक्सानी गरेको आरोप पनि लगाएको छ ।


    आइतवार, फाल्गुण १४ २०७९०३:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij