काठमाडौं । यही फाल्गुन १२, १३ र १४ गते धादिङवेशीमा हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आठौँ महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिष्ठानले त्यसैको जानकारीका लागि काठमाडौंस्थित रिपोर्टस् क्लबमा आज एक कार्यक्रमको आयोजना पनि गरेको थियो ।
प्रतिष्ठानका अध्यक्ष रमेश बिजी र महासचिव सुवास केसीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको यहि फागुन १२, १३ र १४ गते धादिङ जिल्लाको धादिङवेशीमा भव्य सहमारोहका बीच ऐतिहासिक आठौं महाधिवेशन तथा बाइसौँ वार्षिक साधारण सभाको तयारी लगभग पूरा भएको जानकारी गराउदछौँ । महाधिवेशनमा ७२ जिल्ला स्तरीय समिति, ६ प्रदेश स्तरीय समिति, आजीवन सदस्यहरुबाट, मानार्थ सदस्यहरुबाट र केन्द्रिय समितिसहितका सबै प्रतिनिधि गरी जम्मा करिब एक हजार जना प्रतिनिधिको सहभागिता रहने पनि जानकारी गराउदछौँ ।’
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल एक विविधताले भरिएको विश्वकै सुन्दर देश हो । यहाँका कला, संस्कृति, गीत, संगीत, भाषा, धर्म, जनजाति, भेषभुषा, खाना, भुगोल विश्वमा परिचित छ । त्यस्तै मध्ये एक हो लोक तथा दोहोरी गीत । विश्वभर रहेका नेपालीमाझ सगरमाथा जत्तिकै पहिचान बोकेको संस्थाहो राष्ट्रिय लोक तथा दोहोरी गती प्रतिष्ठान नेपाल ।
सम्पूर्ण लोक कला क्षेत्रका कलाकर्मीको छाता संगठन बनाउने उद्देश्यले २०५७ साल असोजमा लोक गायक अम्बर विरहीगुरुङको अध्यक्षतामा तदर्थ समितिहुँदै स्थापना भएको संस्था हो प्रतिष्ठान । यस संस्थाको संगठन ५४ जिल्ला, ९ उपत्यका समन्वय समिति, ९ विदेश शाखा गरी जम्मा ७२ जिल्ला स्तरीय समिति र ५ प्रदेश तथा १ उपत्यका समन्वय समिति गरी ६ प्रदेश स्तरीय समिति रहेका छन् ।
त्यसैगरी साधारण सदस्य २३ हजार ३२२ आजीवन सदस्य २ हजार ७७३ र २३ मानार्थ सदस्यसहित जम्मा कुल २६११८ जना यस संस्थामा आवद्ध रहेका छन् ।
प्रतिष्ठानले काठमाडौंको टोखामा आफ्नै पहलमा जग्गा खरिदगरि आफ्नो कार्यालय स्थापना गरेको गौरव हामीसँग रहेको छ । कार्यालयमा हामीले नव कलाकर्मी र प्रतिभाहरुलाई प्रशिक्षण तथा आफ्ना गतिविधि सञ्चालन गरिरहेको सम्पूर्ण सञ्चारकर्मीलाई जानकारी गराउन चाहन्छौँ ।
मुलुक संघीयतामा गएको र उक्त शासकीय व्यवस्थालाई प्रतिष्ठानले पनि स्वीकार गरेकाले प्रदेशस्तरमा पनि हामी केन्द्रमाजत्तिकै हैसियतमा उपस्थित हुनचाहेका छौँ । दुईवटा प्रदेश र १२ जिल्लामा हामीले अहिलेसम्म आफ्नै भवन बनाउने प्रक्रियामा सिलन्यास गरिसकेका छौँ । त्यस्तै एक व्यवस्थित आकर्शक लोक संग्रहालय सञ्चालन गर्ने अभियान पनि थालेका छौँ ।’
