काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताइरहँदा मधेसवादी दलका नेताहरुले त्यो औचित्यको आवश्यकता कहिले महसुस हुन्छ भनि प्रश्न गरेका छन्।
संविधान दिवसको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संशोधन गर्न सकिने बताउनुभएको थियो ।
त्यसबारे नेपाली रेडियो नेटवर्कमार्फत प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले त्यो समय कहिले आउँछ भनेर प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने बताउनुभएको थियो । आवश्यक देखिएमा संविधान संशोधनका लागि खुला दिमाग राखेर बिना बहकाउ तयार रहनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
वर्तमान संविधान जारी भएदेखि नै मधेसवादी दलहरुले संशोधनको माग उठाउँदै आएका छन् । देशको ठूलो हिस्सा बोकेको समुदायले संविधान स्वीकार्न नसकेको दाबीसहित मधेसवादी दलहरुले संशोधनको माग गरिरहेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा संविधान संशोधनका लागि संसदमा पेश भएको प्रस्ताव तत्कालीन एमालेको असहयोगका कारण अस्वीकृत भएको थियो ।
तर आफू सत्तामा आएपछि भने प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने धारणा निरन्तर व्यक्त गर्दै आउनुभएको छ । संविधान दिवसको पूर्वसन्ध्यामा आज पनि प्रधानमन्त्रीबाट उस्तै किसिमको अभिव्यक्ति आएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले त्यो समय कहिले आउने हो भनि प्रश्न गर्नुभएको हो ।
उहाँले गोली ठोकेर लादिएको संविधानले आफूहरुमा कुनै उत्साह नछाएको बताउनुभयो । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले संविधान संशोधनको प्रक्रियाका लागि मात्रै आफूहरु सरकारमा गएको दाबी गर्नुभयो । यादवले यस वर्षको संविधान दिवसलाई आफूहरुले कालो दिन भने भन्न छाडेको बताउनुभयो । कालो दिन भन्न छाडे पनि संविधान संशोधनको आफूहरुको माग यथावत रहेकोले उत्साह भने नरहेको उहाँको भनाइ छ ।
यता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीका कारण नेपालको संविधान खतरामा रहेको बताउनुभएको छ । संविधान दिवसको सेरोफेरोमा सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको टिप्पणी गर्नुभएको हो । डा. भट्टराईले प्रधानमन्त्री ओलीमा अहंकार र अज्ञानताको मिश्रण रहेपछि मुलुकले दुःख पाइरहेको आरोप लगाउनुभयो ।
संविधान गतिशिल दस्ताबेज हो । यो अपरिवर्तनीय हुँदैन । समयको कालखण्ड अनुसार संविधानमा पनि फेरबदल आवश्यक हुन सक्छ । त्यसैले संविधान जारी भएदेखि नै असन्तुष्ट रहेको पक्षलाई पनि समेटेर सर्वस्वीकार्यतातर्फ अग्रसर हुन दलहरु तयार हुनुपर्छ ।