Nov 19 2026 | २०८३, मंसिर ४ गते

२०८३, मंसिर ४ गते
  • यो साता चर्चामा :
images

रेडियो मालाश्री आठौंं वर्षमा प्रवेश, बिरामीलाई फलफुल वितरण

रेडियो मालाश्री आठौंं वर्षमा प्रवेश, बिरामीलाई फलफुल वितरण

  • आइतवार, फाल्गुण ७ २०७९

  • 623
    SHARES

  • रेडियो मालाश्री आठौंं वर्षमा प्रवेश, बिरामीलाई फलफुल वितरण

    रोल्पा । सामुदायिक रेडियो मालश्री १ सय दशमलव ५ मेगाहर्ज आजदेखि सातौ वर्ष पूरा गरी आठौंँ वर्षमा प्रवेश गरेको छ । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संवाहक भन्ने मूल नाराका साथ वि.स २०७२ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर रोल्पाको लिबाङबाट सञ्चालनमा आएको सामुदायिक रेडियो, रेडियो मालश्री १ सय दशमलव ५ मेगाहर्ज फाल्गुण ७ गते (आज) बाट सातौ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको हो ।

    सातौ वार्षिक उत्सवको अवसरमा सामुदायिक रेडियो मालश्रीले आज रोल्पा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई एक कार्यक्रमका बीच फलफूल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर अस्पतालको आकस्मिक र समान्य वार्डमा भर्ना भई उपचार गराइरहेका बिरामीहरुलाई सु—स्वास्थ्य, दिर्घायू र स्वास्थ्य लाभको कामना गर्दै रेडियो मालश्रीका सल्लाहकार, राजनीतिज्ञ तथा समाजसेवी कृष्णबहादुर घर्तिमगर, रेडियो सञ्चालक समितिका सदस्य समाजसेवी तथा सफल व्यवसायी ज्ञानबहादुर वली, अन्य सदस्यहरु श्रीकुमारी रोका, लिलाधर आचार्य, जस्माया पुन, रोल्पा अस्पताल रेउघाका एम.डि.जिपी डा. रणबहादुर बोगटी, रेडियोका स्टेशन म्यानेजर डी.बी. टुहुरो, लगायतले फलफुल वितरण गर्नुभएको हो ।

    1.jpg

    फलफुल वितरण कार्यक्रममा रेडियो मालश्रीका कार्यक्रम प्रमुख लोकेन्द्र चन्द, रोल्पा अस्पतालका स्वास्थ्यकर्मीलगायतको उपस्थिति रहेको थियो । साथै रेडियोलाई हरेक तहबाट समाचार, सूचना, जानकारी गराउनुका साथै विज्ञापन दिई सहयोग गर्ने सहयोगीहरुलाई सदैव रेडियो परिवारले सम्झिरहने छ । रेडियो सञ्चालन गर्नको लागि आर्थिक, भौतिक, नैतिक हिसाबले सहयोग गर्ने सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सदैव यस्तै सहयोगको अपेक्षा समेत गरेको रेडियोका स्टेशन म्यानेजर डी.बी. टुहुरोले बताउनुभयो ।

    रोल्पा नगरपालिका ३ गोठमारेको साद्दोबाटो गुफा डाँडामा रिले प्रसारण रहेको रेडियो १ दशमलव ५ मेगाहर्ज र मोबाइल एप्लिकेसन हाम्रो पात्रो, मालश्री डटकम, मालश्री खबर र रेडियो मालश्रीकोे आफ्नै अफिसियल फेसबुक पेजबाट संसारभर एक साथ समाचार पढ्न, हेर्न र सुन्न सकिने व्यवस्था भएको रेडियो प्रशासनले जनाएको छ । रेडियोले समाज विकासको लागि विभिन्न खाले चेतनामूलक कार्यक्रम, अन्तर्वार्ता, सन्देश मूलक समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरु निरन्तर प्रसारण गर्दै आएको छ ।

    लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाको सञ्चारको इतिहासमा चौथो रेडियोको रुपमा स्थापना भएको सामुदायिक रेडियो, रेडियो मालश्री १ सय दशमलव ५ मेघाहर्जले बिहान ५ बजे देखि राती ११ बजेसम्म नियमित १८ घण्टा प्रसारण गर्दै आइरहेको छ ।

    फलफुल वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रेडियोका सल्लाहकार राजनितिज्ञ तथा समाजसेवी कृष्णबहादुर घर्तिमगरले अहिले पनि आम नागरिकलाई सबैभन्दा छिटो समाचार प्रवाह गर्ने माध्यम रेडियो भएको बताउनु भएको छ । रेडियो सुन्नलाई कुनै समय छुट्याउन नपर्ने भएकोले पनि रेडियो को महत्व थप बढेको बताउनुभयो । घर्तिमगरले रेडियोबाट प्रसारण भएका समाचार सूचनामा आम श्रोता र नागरिकहरुको ठुलो विश्वास राख्ने गरेको हुनाले कहिल्यै पनि हतारमा झुठो समाचार सूचना प्रसारण गरेर गल्ती नगर्न रेडियोलाई सुझाव समेत दिनुभएको छ ।

    331152206_988357998807836_5890569972455374748_n.jpg

    त्यस्तै, कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि एवं रेडियो सञ्चालन समितिका सदस्य समाजसेवी तथा सफल व्यवसायी ज्ञानबहादुर वलीले समाज परिवर्तन र नागरिकलाई छिटो र सर्वसुलभ तरिकाले समाचार, सूचना प्रवाह गर्ने रेडियो नै भएको बताउनु भएको छ ।

    कार्यक्रममा बोल्दै रोल्पा अस्पताल रेउघा रोल्पाका एम.डि.जिपि. डाक्टर रणबहादुर बोग्टीले आफ्नो वार्षिक उत्सवको अवसरमा रोल्पा अस्पतालमा आएर बिरामीहरुलाई फलफुल र अण्डा वितरण गरेकोमा रेडियो परिवारलाई धन्यवाद दिनुभएको छ । कार्यक्रमको सहजीकरण रेडियो मालश्रीका कार्यक्रम प्रमुख लोकेन्द्र चन्दले गर्नु भएको थियो ।


    आइतवार, फाल्गुण ७ २०७९०६:४५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij