काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनुभएको छ। ‘अ ट्रिटिज अन दी कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचनमा उहाँले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताउनुभएको हो।
व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिए संविधानको संशोधन गर्न सकिने उहाँको भनाइ छ।जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडि बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानुनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभयो । उहाँले आवश्यक देखिए संविधान संशोधनका लागि सबै तयार हुनुपर्नेमा जोड दिनुभएको छ।