काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न राखेको प्रस्ताव मन्त्रिपरिषद् कार्यालयमा विचाराधीन रहेको बताएका छन् ।
प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय गर्नेमा उर्जामन्त्री पुन आशावादी रहेको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईँले आज सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त प्रस्ताव गत सोमबारको मन्त्रिपरिषद बैठकमा पेश भएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विचाराधीन अवस्थामा रहेको जनाउँदै त्यसमाथि छिट्टै निर्णय हुनेमा आशावादी रहेको उल्लेख गर्नुभएको छ ।
चापागाईँले मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग परामर्श गरेरै घिसिङको मात्र नाम मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको बताउनुभएको छ ।
गत २९ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो ।