काडमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा संविधान सभा सदस्यएवं पूर्व सांसद डा.चन्द्र भण्डारीले काठमाडौको खुल्लामञ्चमा निःशुल्क खाना खुवाउन सहयोग रकम हस्तान्तरण गर्नुभएको छ ।
कोरोनामहामारीका कारण आम्दानी गुमाएका र भोकभोकै बस्नु पर्ने अवस्थामा रहेकाहरुलाई खाना खुवाउदै आएको हाम्रो टिम नेपाललाई डा. भण्डारीले १ लाख ५ हजार रुपैया नगद हस्तान्तरण गर्नुभएको हो ।
निःशुल्क कपडा बैंक सञ्चालन गरी हुनेले दिने र नहुनेले लिने अभियान शुरु गरेको हाम्रो टिम नेपालमा आबद्ध युवाहरुले धेरै रचनात्मक र स्वयमसेवी सामाजिक कामहरु गरेकाले प्रभावित भएर सहयोग रकम प्रदान गरेको डा. भण्डारीले बताउनुभयो ।
उहाँले आफ्ना साथीहरु सत्यनारायण केवल र प्रमोद चौधरीबाट ७० हजार रुपैया र राजकुमार बस्नेतबाट ३५ हजार रुपैया सहयोग संकलन गरेर हाम्रो टिम नेपाललाई दिएको पनि जानकारी दिनुभयो । उहाँले केही थान मास्क पनि दिनुभएको थियो ।
नेता भण्डारीबाट रकम प्राप्त गरेपछि हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले राजनीतिक क्षेत्रबाट आफुहरुलाई पहिलो पटक सहयोग प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
पन्तले भन्नुभयो, “हाम्रो टिम नेपालले यति धेरै सेवामुलक कामहरु गर्दा हजारौले सहयोग गर्नुभयो । तर राजनीतिक क्षेत्रबाट सहयोग गर्ने उहाँ नै पहिलो राजनीतिज्ञ हुनुहुन्छ ।”
सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ, “हाम्रो टिम नेपालले निःशुल्क कपडा बैंक संचालन गरेको बेलामा कपडा राखिएको ठाउँमै आएर हौसला दिनुभएका डा. भण्डारीले अहिले फेरी आफ्नै घरमा बोलाएर १ लाख ५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ । उहाँको यो सहयोग र सक्रियताले हामीलाई अति धेरै उत्प्रेरणा प्राप्त भएको छ ।”
पन्तले सहयोग जुटाउने सक्रियता र समन्वय गरिदिनुभएकोमा काँग्रेस नेता भण्डारी र सहयोग प्रदान गरिदिनुहुने सत्यनारायण केवल, प्रमोद चौधरी र राजकुमार बस्नेतप्रति आभार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष पन्तले आफुहरु सामाजिक कार्यमा लाग्नका लागि डा. चन्द्र भण्डारीले पहिलेदेखि गर्दै आउनु भएको सामाजिक सेवाले पनि प्रेरणा प्रदान गरेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहिलेदेखि नै सामाजिक र सेवाको भावना भएको नेताको रुपमा हामीले उहाँलाई चिनिरहेकै थियौँ । आफ्नो गृह जिल्लाका माझी बस्तीमा पुरै गाउँघर नै बनाईदिने, उनीहरुलाई पोशाक र पाठ्यसामग्रीको व्यवस्था गरिदिने, माझी बस्तीमा दशै मनाउने, गरिवका सयौँ छोराछोरीलाई आफ्नो तलबबाट पढाइको व्यवस्था गरिदिने लगायतका उहाँको विगतका कामहरुले पनि हामीलाई यस्ता सामाजिक कार्यमा लाग्न हौसला प्रदान गरेको हो ।”
स्वयमसेवी युवाहरुको समूह हाम्रो टिम नेपालले पछिल्लो समयमा काठमाडौको खुल्लामञ्च लगायतका विभिन्न ठाँउमा गरिब र भोकै भएकाहरुलाई निःशुल्क खाना वितरण गर्दै आइरहेको छ । दैनिक झण्डै चार सय जनालाई खाना खुवाउने गरिएको र एक छाकमा झण्डै ३५ हजार खर्च हुने गरेको पनि उहाँले बताउनुभयो ।
हाम्रो टिम नेपालले अहिले काठमाडौमा निःशुल्क खाना खुवाउने कामका अतिरिक्त निःशुल्क कपडा बैंक सञ्चालन गर्दै आइरहेको छ भने बाढी बहिरोमा पीडित र अन्य समस्यामा परेकाहरुलाई पनि विभिन्न सहयोगहरु गर्ने गरेको छ ।
आफुहरुले हालै मात्रै बाग्लुङ र सिन्धुपाल्चोकमा पहिरो पीडितहरुलाई पनि खाद्य सामग्री, लगाउने कपडा, विस्तारालगायतका सामग्रीहरु पुर्याएर आएको पन्तले जानकारी दिनुभयो ।