काठमाडौँ – भारतले निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको हाहाकार मच्चिन थालेको छ । भारतले निर्यातमा रोक लगाएको दुई दिनमै प्याजको थोक मूल्य दोब्बरले बृद्धि भएको छ । नेपालमा दुई दिनअघि प्याजको थोकमूल्य प्रतिकिलो ६० रुपैयाँ थियो तर भारतले निर्यातमा रोक लगाएसँगै आज यो मूल्य बढेर प्रतिकिलो १२० रुपैयाँ पुगेको छ ।
आम उपभोक्ताले मुलुकका विभिन्न स्थानमा प्रतिकिलो दुई सय भन्दा धेरै मूल्य तिरेर प्याज खरिद गर्नु परेको बताएका छन् । हरेक वर्ष दसैँ तिहारको मुखमा भारतले प्याज निर्यातमा रोक लगाउने गरेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने गर्दछ ।
तर नेपालमा प्याजको आन्तरिक उत्पादन बढाउन राज्यका तर्फबाट कुनै पहल भएको छैन । लागत अनुसारको प्रतिफल नपाइने र समय पनि धेरै लाग्ने भएपछि नेपाली किसान प्याज खेतीमा आकर्षित हुन नसकेको राष्ट्रिय तरकारी तथा फलफुल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेको भनाइ छ ।
भारतमा आधुनिक कृषि प्रणालीका कारण उत्पादन धेरै रहेको तर नेपालमा प्याजको व्यवसायिक खेती नै सुरु नभएकाले हरेक वर्ष भारतले निर्यातमा रोक लगाउनु बित्तिकै नेपालमा हाहाकार भइरहेको उहाँको भनाइ छ । घिमिरले वर्तमान अवस्थामा नेपाल प्याजमा शतप्रतिशत नै भारतमा निर्भर रहेको बताउनुभयो ।
अघिल्लो वर्ष पनि यहि समयमा भारतले प्याज निर्यातमा रोक लगाउँदा नेपालमा मूल्य आकासिएको थियो । तर त्यो बेला चीनबाट केही दिनमै प्याज आयात गर्न सकिएका कारण केही हदसम्म प्याजको अभावलाई पूर्ति गरिएको थियो ।
तर यो वर्ष कोरोना भाइरस संक्रमणका कारण चीनबाट पनि प्याजको आयात गर्न सम्भव नरहेको व्यापारी बताउँछन् । चीनबाट पनि आयात गर्न नसकिने भएका कारण नेपालमा प्याजको अभाव झनै चर्काे हुने सम्भावना देखिएको छ ।
पूर्व कृषिमन्त्री समेत रहनुभएका सत्तारुढ नेकपाका सांसद गौरीशंकर चौधरी प्याजको उत्पादन बढाउन नेपाली किसानहरुलाई राज्यले अनुदान दिनुपर्ने सुझाव दिनुहुन्छ । अहिले आफ्नो भान्साका लागि मात्रै केही किसानहरुले प्याजको उत्पादन गरिरहेको बताउँदै उहाँले यसको व्यवसायिक उत्पादनका लागि राज्यले ध्यान दिन नसकेको बताउनुभयो ।
आफू मन्त्री हुँदा समेत प्याज लगायतका खेतीबारे प्रोत्साहनमुलक कार्यक्रम ल्याउन नसकिएको उहाँले स्वीकार गर्नुभयो । तर अब स्थिर सरकारले त्यसमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
हुन त नेपालमा प्याज खेती प्रोत्साहन कार्यक्रम नभएको पनि होइन । अहिले पनि कृषि मन्त्रालयमार्फत प्याज लगायतका तरकारी तथा मसाला बाली विकासका लागि बर्सेनि ठूलो बजेट खर्च हुँदै आएको छ । तर यसरी खर्च गरिएको बजेट किसानसम्म पुग्न सकेको छैन । ती कार्यक्रमहरु झारा टार्नमै सीमित भएका छन् ।
कृषि मन्त्रालय अन्तर्गतको तरकारी विकास केन्द्रका वरिष्ठ बागबानी विकास अधिकृत दिनेश सापकोटाले प्याज खेतीका लागि सरकारी कार्यक्रमहरु रहेको तर ति कार्यक्रमहरु प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो । प्याज खेतीमा नेपाली किसानको आकर्षण नै नरहेको उहाँको दाबी छ । किसानको आकर्षण नभएपछि सरकारले आफै गएर खेती गर्न नमिल्ने उहाँको तर्क छ ।
छिमेकी मुलुक भारतमा त्यहाँको सरकारले किसानहरुलाई कृषि उपज उत्पादनमा ठूलो अनुदान दिने गरेको छ । किसानहरुलाई आधुनिक कृषि उपकरणको प्रयाग गरेर व्यवसायिक खेती गराउनमा भारतले ठूलो लगानी गरेको छ । तर नेपालमा विभिन्न खेतीको विकास गर्ने नाममा बजेट कुम्ल्याउने बाहेक कार्य हुन सकेको छैन ।
किसानका नाममा वितरण गरिएको अनुदान कागजी प्रक्रिया पूरा गरी टाठाबाठाहरुले पचाउने गरेका छन् । मुलुकको यस्तो अवस्थामा सुधार ल्याउनुको साटो राज्यका महत्वपूर्ण निकायमा रहेका जिम्मेबार अधिकारीहरुबाट ‘किसानहरु आकर्षित भएनन्’, ‘सरकारले आफै गएर खेती गरिदिने होइन’ जस्ता अभिव्यक्ति आउनु लज्जाको विषय हो ।