काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपभोक्ता बनेर कालीमाटी बजार अनुगमन गर्नुभएको छ ।
भारतले निर्यातमा लगाएको प्रतिबन्धसँगै प्याजको मूल्य आकासिएपछि मन्त्री भट्ट स्वयम्ले आज अनुगमन गर्नुभएको हो ।
प्याजको मूल्यमा चर्को कालाबजारी भएको गुनासो उपभोक्ताले गरेपछि आज बिहान छड्के अनुगमन गरिएको मन्त्री भट्टको स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो ।
प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेको जस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको छ ।
यस्तै, प्याज लुकाउन प्रयोग भएको एउटा पिक–अप भ्यानलाई नियन्त्रणमा लिइएकोे मन्त्री भट्टको सचिवलयले जनाएको छ । बजारमा प्याजको मूल्यमा मनपरी भएको पाइएपछि अनुगमनका लागि वाणिज्य विभागलाई सक्रिय पारिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, मन्त्री भट्टले छिट्टै प्याजको मूल्यमा नियन्त्रण आउने दाबी गर्नुभयो ।
महंगो मूल्यमा प्याज बेच्नेलाई आवश्यक कारबाही हुने उहाँको भनाइ छ । मन्त्री भट्टले नेपालमा प्याजको अभाव सिर्जना हुन नदिन भारत–चीनसँग कूटनीतिक पहल गर्ने बताउनुभयो ।
साथै, प्याज कालोबजारी गर्ने चारजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री भट्टले आज बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनीहरुलाई पक्रन प्रहरीलाई आदेश दिनुभएको थियो ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बारा घर भएका ५० वर्षीय हरिनारायण साह कलवार छन् ।
बुधबारसम्म ४८ रुपैयाँमा बिक्री भइरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजी बेचेको अनुगमनको गर्दा फेला परेको थियो । भारतले निर्यात रोकेको बहनामा व्यापारीले स्टोर गरेको प्याज महङ्गो मूल्यमा बेचेका हुन् ।
उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले बताउनुभयो ।