काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक बुधबार(भोलि) बस्दै छ। भोलि दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्को महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेस हुने कार्यसूचीमा उल्लेख छ।
यस्तै, बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभामा रिक्त रहेको पदबारे संसद् सचिवालयलाई जानकारी गराउन कार्यसूची छ।
संसद् सचिवालयका अनुसार सभामुख घिमिरेले नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधि सभा नियमावली २०७५ नियम २१२ को (१)बमोजिम गराउनुहुने छ।