काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रीको टुंगो नलाग्ने बताएको छ। त्यतिञ्जेलसम्मका लागि गृहमन्त्रालय माओवादीले आफैसँग राख्ने भएको हो। पार्टीका प्रवक्ता कृष्णबहादुर महराले मंगलबार(आज) पार्टीको पदाधिकारी बैठकमा गृहमन्त्रालयबारे तत्काल निर्णय नभएको जानकारी गराउनुभयो।
गृहमन्त्री को बन्छ? भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका उपाध्यक्ष महाराले फैसलाको पूर्ण पाठ नआएसम्म गृहमन्त्रालय माओवादीले नै राख्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय माओवादीले आफैसँग राख्छ। अहिले पनि गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफैसँग राख्नु भएको छ। पूर्णपाठ आएपछि मात्रै गृहमन्त्रीको टुंगो लाग्छ।’
रास्वपाका सभापति लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरिदिएपछि सांसद, उपसभापति र गृहमन्त्री पद गुमेको छ। सर्वोच्चको आदेशअनुसार लामिछानेले पुनः नेपाली नागरिकता प्राप्त गर्नुभएको छ। नागरिकता लिएसँगै लामिछानेले पुनः गृहमन्त्रीमा दाबी गर्नुभएको छ।
गृहमन्त्रीको विषयलाई लिएर लामिछाने आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुग्नुभएको थियो।भेटका क्रममा सत्ता गठबन्धनमा सहमति भएअनुसार पुनः गृहमन्त्री रास्वापालाई नै दिनुपर्ने अडान दोहोर्याउनुभएको थियो। नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिनुभएको थियो ।
तर प्रधानमन्त्री प्रचण्ड भने यस विषयमा सकारात्मक हुनुहुन्न। आज बिहान भएको भेटमा पनि उहाँले रवि र राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन नसकिने बताउनुभएको थियो ।