काठमाडौं । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज आएको भूकम्प २०७२ सालपछिको सवैभन्दा ठूलो भूकम्प भएको बताउनु भएको छ ।
नेपालमा विक्रम संवत २०७२ साल बैशाख १२ गते विहान ११ः५६ मा गोर्र्खाको बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको, १३ गते र बैशाख २९ गते दिउँसो १२ः५०मा सिन्धुपाल्चोक ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछिको सवैभन्दा ठूलो आज ६ रेक्टर स्केलको भूकम्प गएको उहाँको भनाई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले आज गएको भूकम्प पनि त्यतिबेलाकै गोर्खा भूकम्पको पराकम्प भएको जानकारी दिनुभयो । उहाँले आज सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको स्याङ्जा, पाल्पा, रुपेन्देहीसम्म महसुस गरिएको सूचना आएको बताउनुभयो ।
उहाँले आजको भूकम्पले गरेको क्षतीको विवरण आफुहरुलाई थाहा नभएपनि बाढी पहिरोको जोखिम भने थप बढेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।अहिले बर्षाको बेला भएकाले पनि बाढी पहिरोको जोखिम बढी हुने उहाँको भनाई छ ।
अधिकारीले कोरोनासँगै भूकम्प र बाढीपहिरोप्रति पनि उत्तिकै सतर्क हुनुपर्ने आवश्यकता रहीरहेकोमा जोड दिनुभयो । नेपालमा पछिल्लो २०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी कम्तीमा ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।
त्यसैगरी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।