काठमाडौं । लुम्बिनी प्रदेशका ४ सहित देशभरका कुल १६ जिल्लामा कुष्ठरोगको प्रकोप उच्च रहेको रहेको पाइएको छ । ७० औं कुष्ठरोग दिवसको अवसरमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगका बिरामीको संख्या धेरै रहेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
हाल देशभर २ हजार १ सय ७३ जना कुष्ठरोग बिरामी छन् । जसमध्ये लुम्बिनी प्रदेशमा मात्रै ५८४ कुष्ठरोगीहरु रहेका निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जमनकारी दिनुभयो । लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु, बाँके र बर्दियासहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च रहेको पाईएको छ।
सबैभन्दा धेरै बारा जिल्लामा कुष्ठरोगीका बिरामीहरु छन्, भने लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै रुपन्देहीमा १६५ जना, कपिलबस्तुमा १२१, नवलपरासी पश्चिममा ७७, बाँकेमा ८५, बर्दियामा ६३, दाङमा २२, पाल्पामा १८, गुल्मीमा ११, प्युठान र रोल्पामा ७÷७ जना, अर्घाखाँचीमा ६ जना र पूर्वी रुकुममा २ जना कुष्ठरोगी रहेका छन् ।
सातै प्रदेश मध्ये सबैभन्दा बढी कुष्ठरोगीहरू मधेस प्रदेशमा र सबैभन्दा कम वाग्मती प्रदेशमा छन्।लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले ७० औँ कुष्ठरोगको अवसरमा आइतबार बुटवलमा सचेतनामूलक र्याली गर्ने तयारी गरेको छ ।