काठमाडौं । सांसदहरुले नेपाली महिलालाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले सुरक्षाको दृष्टिकोणले खतरा रहेको देशमा महिलालाई श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवेन्द्र पौडेलले असहज र असुरक्षित प्रकारले श्रम गर्न जानुपर्ने मुलुकमा पठाउने कार्यलाई रोक्नुपर्ने बताउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले घरेलु कामदारको रुपमा महिला कामदारलाई पठाउने कुरामा सरकारले धेरै जोड गर्न नहुने बताउनुभयो ।
‘दुई–चार जना ठग, व्यापारी, लुटेराले पैसा कमाए पनि देशको नाम नै बदनाम हुने भएकाले महिला श्रमिकलाई खाडी मुलुक पठाउने कार्य रोक्नुपर्छ’, उहाँले भन्नुभयो ।
त्यस्तै, महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले लुकिछिपि ग एपनि विदेशमा अलपत्र परेका महिला श्रमिकलाई उद्दार गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो ।
कोभिड १९ संक्रमणको अवस्थामा विदेशमा अप्ठेरो अवस्थामा परेका नागरिकलाई स्वदेश ल्याउने दायित्व सरकारको नै भएकाले ऐन नियम छैन भन्दै पन्छिने कार्य गर्न नहुने उहाँको भनाइ छ ।