काठमाडौं। राजनीतिक विश्लेषक तथा पूर्व राजदूत लोकराज बरालले गलत नेतृत्व छानिनुमा जनता तथा कार्यकर्ता कै दोष भएको टिप्पणी गर्नुभएको छ ।
नेतृत्व चयन गर्ने बेलामा गुट, वंश वा निकटताका आधारमा राम्रोभन्दा हाम्रोलाई छनेपछि देश र दलहरुको अवस्था यस्तै हुने उहाँको भनाई छ ।
गफ दिएकै आधारमा नेकपालाई र नेकपाले केपी शर्मा ओलीलाई राज्यको नेतृत्व सुम्पिएकाले आज मुलुक भद्रगोल भएको बरालले बताउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दल काँग्रेसमा पनि क्षमता र नतिजाका आधारमा भन्दा पनि गुटबन्दीका आधारमा नेतृत्व चयन भएकाले काँग्रेस निरिह अवस्थामा पुगेको टिप्पणी गर्नुभयो ।
नेपाली नेटवर्कसंग कुरा गर्दै उहाँले आगामी महाधिवेशनमा काँग्रेसका कार्यकर्ताहरुले गुटबन्दीभन्दा बाहिर निस्कीएर क्षमता र योग्यता भएकाहरुलाई नेतृत्वमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
नेकपाबाट जनता आजित भएका बेला काँग्रेसमा राम्रो नेतृत्व चयन भयो भने काँग्रेसलाई राम्रो अवसर आउने विश्लेषक बरालले बताउनुभयो ।
बेलायतमा जनमतमा आफ्नो पक्ष पराजित भएपछि आफु शक्तिशाली हुँदा हुदै पनि तत्कालिन प्रधानमन्त्री क्यामरुनले पदत्याग गरेको र भारतमा पार्टी पराजित भएपछि भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले अध्यक्षबाट राजीनामा दिएको चर्चा गर्दै उहाँले नेपालमा त्यस्तो नैतिकता नदेखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।
पुरानो नेतृत्वले नैतिकता, राजनीतिक संस्कार, अस्वस्थताका आधारमा पदत्याग गर्ने प्रचलन विश्वभरी नै रहेको उहाँले स्मरण गराउनुभयो ।
विश्लेषक बरालले विश्वविद्यालयमा, कर्मचारीतन्त्रमा पनि उमेरको हद हुनुको पछाडी धेरै बैज्ञानिक कारणहरु रहेको तर्क गदै राजनीतिमा पनि उमेर हद कायम गर्नु राम्रो हुने धारणा राख्नुभयो ।
तर नयाँ आउने नाममा गुटबन्दी गरे, बाउ बाजेको नाम बेचेर आउनेहरु भन्दा क्षमता प्रदर्शन गरेर आउनेहरुलाई कार्यकर्ताहरुले छान्नु पर्नेमा उहाँले जोड दिनुभयो ।