काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ ९३३ जना०को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गर्नुभएको थियो ।
केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गर्नुभएको थियो । एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जित्नुभएको हो ।
एमाले, माओवादी र राप्रपाको सरकार बन्दा २७ सिट जितेको नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।
गण्डकीमा एकीकृत समाजवादी शून्य थियो तर मनाङबाट स्वतन्त्र सांसद जितेका राजीव गुरुङ (दीपक मनाङे) चुनावपछि प्रवेश गर्नुभएको थियो ।
तर, उहाँले अन्तिममा स्वतन्त्र सांसदको हैसियतमा खगराजलाई समर्थन गर्नुभएको छ ।