काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला उनैलाई समर्थन गरेका केही दलहरुले मोर्चाबन्दी शुरु गरेका छन् । अहिलेसम्मको परिस्थितिलाई नियाल्दा प्रचण्डले करिब १६९ जना सांसदबाटै विश्वासको मत पाउने आंकलन गर्न सकिन्छ ।
सरकारमा सहभागी भएको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, सरकारमा जानै लागेको जनमत पार्टीलगायत बाहिरबाट समर्थन गरेका जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदै छन् । हालको सरकारलाई समर्थन गरिरहेका दलहरुको आआफ्नै एजेण्डा र अडान छन् । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दीहरुको रिहाई, लालआयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मुद्धालाई अगाडि सारेको छ ।
पछिल्लो समय यिनै मुद्धाहरुलाई थारुबस्तीमा लगेर सहानुभूति बटुलेको नागरिक उन्मुक्ति पार्टीलाई दबाब पनि रहेको देखिन्छ । आकारमा सानो भएतापनि ठूलो जिम्मेवारी बोकेको नागरिक उन्मुक्ति पार्टीले उल्लेखित विषयहरुलाई कार्यान्वयनमा ल्याउन सकेन भने उसलाई निकै चुनौति छ । आज जनमत पार्टीसँग हात मिलाउँदै पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारमा सहभागी नभई आफ्ना मागहरुलाई जोडदारका साथ उठाइरहने बताउनुभयो ।
दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश गर्दै प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको छ । ११ बुँदे साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुवै दलको सहमति छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समक्ष गरेका बाचाहरु कार्यान्वयन गर्नकै लागि मोर्चाबन्दी गरिएको बताउनुभयो ।
साना दुई दलले गरेको मोचाबन्दीले हालको सरकारलाई केही दबाब सिर्जना हुने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीले आफ्ना माग सम्बोधन गराउनका निम्ति हिजो मधेशवादी दलहरुसँग सामिप्यता बढाएता पनि त्यो सम्भव देखिएको थिएन । २०७४ सालमा राष्ट्रिय जनता पार्टी राजपाबाट निर्वाचन जितेका चौधरीले आफ्नो माग कार्यान्वयन नभएपछि नागरिक उन्मुक्ति पार्टीको गठन गरेका थिए । अहिले आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर उनी मुलुकको राजनीतिक मोर्चामा उभिएका छन् ।
यसैबीच, नागरिक उन्मुक्ति पार्टी भोलिको प्रतिनिधिसभामा बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनुभएको छ ।