काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यहि पुष २६ गते विश्वासको मत लिदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिने मिति नजिकिँदै जाँदा सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले त्यसलाई विफल बनाउन अर्को गठबन्धन बनाउन लागेको खबरहरू विभिन्न संचारमाध्यममा आइरहेका छन् ।
त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को पाँचौँ स्थानमा रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विवरण सार्वजनिक भएको छ । एमाले–गठबन्धनतिर जान नदिन राप्रपालाई प्रधानमन्त्री दिनु परे पनि तयार हुनुपर्ने कांग्रेसका कतिपय नेताहरुले बताएको स्रोत बताउँछ ।
सत्ता गठबन्धनबाट राप्रपा र जसपालाई बाहिर ल्याउन कांग्रेस सभापति देउवाले अधिकतम प्रयास गरिरहेको बताइएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति एवं संसदीय दलका नेता समेत रहनुभएका देउवाको राजनीतिक भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यता,राप्रपाका महामन्त्री भुवन पाठक कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीमा गरेको प्रस्ताव अस्वभावीक नभएको तर त्यो कुरामा कुनै दम नभएको बताउनुहुन्छ ।
नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई सुरुवाती समर्थन दिएको राप्रपाले अझै सरकारमा जाने विषयमा निर्णय पनि गरिसकेको छैन । सरकारमा जाने नजानेबारेको हाम्रो प्रश्नमा उहाँले सरकारको निति कार्यक्रम आएपछि मात्र निर्णय गर्ने बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले समेतको सहयोगमा प्रधानमन्त्री बनेपछि देउवा असन्तुष्ट हुनुहुन्छ । कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको बिषय बाहिर आईरहदा संसदीय दलका प्रमुख सचेतक रमेश लेखक आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताउनुहुन्छ । उहाँले सत्तासमीकरण बनाउने र भत्काउने खेलमा कांग्रेस नभएको प्रष्टीकरण दिनुभयो ।
विश्वासको मतका विषयमा राजनीतिक वृत्तमा अनेक अड्कलबाजी भइरहेका बेला कांगेस सभापति देउवाले सरकारमा सहभागी हुने वा नहुने अलमलमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटेर छलफल गर्नुभएको छ । अर्कोतिर, प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न भन्दै शीतल निवास पुगेका राजनीतिक दलले नै विश्वासको मत नदिने त होइनन् भन्ने आशंका पनि गर्न थालिएको छ ।
प्र्रधानमन्त्री पचण्डले २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसके राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
तर कांगे्रसलाई सोचेजति सहज भने छैन । किनकि त्यसका लागि सरकारमै सहभागी दललाई मत दिनबाट रोक्नुपर्छ । अहिलेको प्रतिनिधिसभामा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र जनमत पार्टीका ६ सांसद छन् । सबैले मत दिए १३७ हुन्छ । स्वतन्त्र सांसदद्वय प्रभु साह र अमरेशकुमार सिंहले साथ दिनासाथ प्रचण्डले विश्वासको मत पाउनुहुनेछ । अहिले सत्ता गठबन्धनबाहिर कांग्रेस ८८, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी ४ र राष्ट्रिय जनमोर्चा एक गरी १०३ सिट छ । सरकारमा नगएका तर समर्थन गरेका राप्रपा १४, जसपा १२ र नागरिक उन्मुक्ति पार्टी ४ गरी ३० सिट रहेको छ । यो सवैगरी १३३ सिट हुन्छ । अर्को जनमत पार्टी समेत समेट्दा थप ६ सिट थपिनेछ । यस्तो अवस्थामा १३९ सहित कांग्रेस समिकरणको बहुमत पुग्छ ।
दाहाल नेतृत्वमा सरकार बनेपछि केही दिन सुस्ताएका देउवाको यो राजनीतिक भेटवार्तालाई अर्थपूर्ण मान्न सकिन्छ । तर कांगे्रसलाई सोचेजति सहज भने पक्कै पनि छैन ।