काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज सकिँदैछ । २९ भदौ ०७३ माा कार्यकारी निर्देशक नियुक्त हुनुभएका घिसिङको कार्यकाल सकिँदै गर्दा प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछ भन्ने बहस चलिरहेको छ ।
प्राधिकरणका कर्मचारीले घिसिङलाई औपचारिक रुपमा विदाइ गर्नेछन् । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका उहाँलाई तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणमा ल्याउनुभएको थियो ।
घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उहाँलाई दोहो¥याउने गरी प्रस्ताव पुगेको छैन ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्राधिकरणका नयाँ कार्यकारी निर्देशक नियुक्तिको निर्णय सोही दिन नै हुने सम्भावना छ ।
सरकारले कुलमानलाई नदोहो¥याउने इच्छा गरे पनि जनस्तरबाट दोहो¥याउन दबाव छ । दवावका कारण कुलमान दोहोरिने सम्भावना प्रवल रहेको स्रोत बताउँछ ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।