सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये ९ जनाको शव भेटिएको छ । हिरामाया नेवार, जुनु विक, याक्सि तामाङ, सुभलाल तामाङ, सन्देश विक, सर्किनी नेवार र टाक्सी शेर्पाको शब भेटिएको बाह्रबिसे नगरपालिकाका अध्यक्ष निमफोञ्जो शेर्पाले जनाकारी दिनुभयो ।
सव भेटिएकामध्ये दुई जनाको सनाखत हुन सकेको छैन । ८ महिला र एक पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानले बताउनुभयो । उक्त पहिरोमा २३ जना वेपत्ता रहेका र उनीहरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा रसबहादुर नेवार, यानीमाया प्रधान, दिलमाया श्रेष्ठ, करण श्रेष्ठ, करनकी श्रीमति रिता श्रेष्ठ, मनिष श्रेष्ठ, रबिना श्रेष्ठ, रियाशु शिबभक्ति र दुई महिनाको वालक रहेका छन् । त्यस्तै पदम कुमारी श्रेष्ठ, लालबहादुर श्रेष्ठ, लालबहादुरका छोरा छोरी पनि बेपत्ता रहेका छन् ।
पहिरोले २५ घर बगाएको छ भने २१० घर जोखिममा रहेको छ । सभामुख अग्नीप्रसाद सापकोटाको टोली घटनास्थल पुगेको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । सभामुख अग्नि सापकोटासहितको टोली पनि आजै बिहान स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रमा पुग्नुभएको छ ।