काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले पार्टीका नेता कार्यकर्ताहरुको शोषणका लागि अवैध तरिकाले विभागहरु गठन गरिएको टिप्पणी गर्नुभएको छ ।
महाधिवेशनको मिति घोषणा भइसकेपछि विभाग गठन गर्न मिल्दै नमिल्ने र त्यसले काम गर्न पनि नसक्ने बताउदै उहाँले कार्यकर्ताहरुको शोषणका लागि मात्रै गठन गरिएको दावी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले प्रश्न गर्नुभयो, “यही काम तत्कालिन सभापति सुशिल कोइरालाले गर्दा उहाँले अनेक हतकण्डा गरेर खारेज गराउनु भयो, अहिले त्यही कम त्योभन्दा पनि अवैध तरिकाले उहाँले गर्न मिल्ने ?”
धेरै दृष्टिकोणबाट अहिलेको नियुक्ति अवैध, अराजनीतिक र अमान्य रहेकाले तत्काल खारेज हुनुपर्नेमा नेता केसीले जोड दिनुभयो ।
विभागहरुको गठन सभापति देउवाले पार्टीको हितका लागि हुदै नभएको र आफ्नो स्वार्थका लागि मात्रै दुरुपयोग गरेको उहाँले आरोप लगाउनुभयो ।
सभापति देउवाले पार्टी कब्जा गर्नका लागि विधानलाई सोझै चुनौती दिएको र उहाँको कार्यकालमा कुनै पनि राम्रा काम नभएको नेता केसीले दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी भित्र, सरकारमा हुँदा र प्रतिपक्षका रुपमा पनि देउवाजीको भूमिका निरिह, भद्रगोल, लाजलाग्दो भयो, त्यसैले आगामी महाधिवेशनमा उहाँको विकल्प खोजिने छ।”
काँग्रेसमा अहिले एउटा धार पार्टीलाई अहिलेकै अवस्थामा चलाईरहने र अर्को धार पार्टीलाई सुधार गरेर नयाँ तरिकाले चलाउने भन्ने पक्ष गरी दुई धार रहेको उहाँले तर्क गर्नुभयो ।