काठमाडौं । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार(आज) दिउँसो १ बजे बस्दै छ ।
गएको ४ मंसिरमा भएको संसदीय निर्वाचनबाट चुनिएका प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण गरेसँगै पहिलो बैठक आज बस्न लागेको हो ।
पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्नुहुने छ। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गएको पुस १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आजको लागि आह्वान गर्नुभएको थियो । उहाँले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
प्रदेशसभा सचिवालयका सचिव कृष्ण हरि खड्काका अनुसार बिहान बागमती प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले आजको बैठकमा प्रस्तुत हुने सम्भावित कार्यसूची तयार पारेको छ ।
उहाँका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने, दलका नेताहरूद्वारा अधिवेशन सफलताको शुभकामना व्यक्त गर्ने, प्रदेश सभा नियमावली २०७४ अनुमोदन गर्ने, सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको चयन गर्ने लगायतका कार्यसूची छ ।
अधिवेशन सुरु भएसँगै प्रदेश सभाका सभामुख र उपसभामुख चयनको प्रक्रिया पनि सुरु हुनेछ । संविधानको धारा १८२ अनुसार पहिलो बैठक बसेको १५ दिन भित्रमा सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ ।