काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया चलिरहँदा यतिवेला कुन दलले कुन मन्त्री लिने भन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेले १० मन्त्रीमा दाबी गरेको छ भने नेकपा माओवादी केन्द्रले बाँकी ६ मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच मन्त्रालयमा दाबी गरेको छ ।
उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सत्ता गठबन्धनका सात दलका नेताको बैठकमा आफूहरुलाई पाँच मन्त्रालय चाहिने अडान राख्नुभएको छ । स्रोतले बताएअनुसार शिक्षा र स्वास्थ्यमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान रास्वपाको छ । त्यस्तैगरी कानुन, कृषि, पर्यटन र युवा तथा खेलकूद मन्त्रालय पाउनुपर्ने दाबी सो पार्टीको रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिले तीनभन्दा बढी दिन नसकिने अडान राख्नुभएको छ ।
सत्ता साझेदार अरु दलहरु जसपाले ३, जनमत पार्टीले २ र नागरिक उन्मुक्ति पार्टीले पनि दुई मन्त्रालयमा दाबी गरेका छन् ।
२५ वटा मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ ।