काठमाडौं । सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरमा ‘कमेन्ट’ गरेकै नाममा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको छ ।
जनकपुरधाम उप–महानगरपालिका –२० देवपुरा रुपैठामा आज झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो ।
मुस्लिम समुदायको मोहरम्म पर्वको लागि बनाइएको दाहाको फोटोमा फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद भएको हो ।
सामान्य विवादको विषयले उग्ररुप लिएपछि अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
पैठाकामा एक हिन्दू समुदायका युवाले मोहरम्मको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो ।
झडप उग्रह बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।
विवादको क्रममा मोहरम्मका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले एक किराना पसलमा समेत तोडफोड गरेको छ ।
यद्यपि, दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित ६० जनाको टोली खटाइएको छ ।