काठमाडौं । आगामी पाँच वर्षका लागि जनताबाट अनुमोदित भएका सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सांसदहरूलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले शपथ गराउनुभएको हो । संघीय संसद् भवन नयाँबानेश्वरमा शपथ समारोहको आयोजना गरिएको थियो । शपथ समारोहमा धेरै पुरुष सांसदहरू दौरा सुरुवाल र महिला सांसदहरू सारी लगाएर आएका थिए । कतिपय सांसदहरूले आफ्नो जातीय पहिचान झल्काउने पोशाक लगाएका थिए । २६ जना सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिएका थिए ।
आज ४ जना सांसद अनुपस्थित रहेका थिए । संसद् सचिवालयका अनुसार महिन्द्र राय यादव, प्रेमबहादुर आले, माया राई र राजकुमार राई अनुपस्थिति भएका हुन् । शपथ ग्रहण गर्दै सांसदहरू विश्वप्रकाश शर्मा, विनोद चौधरी, तोसिमा कार्कीले जनताले दिएको अभिमतलाई अनुसरण गर्दै अगाडि बढ्ने प्रण गरेका छन् ।
शपथ ग्रहणपछि संसद् सचिवालयले चियापान कार्यक्रमको आयोजना गरेको थियो । यसपटकको संसद्मा नयाँ अनुहार पनि धेरै समेटिएकोले उनीहरूले एकआपसमा खुसी बाँडेका थिए । कतिपय सांसदहरूले यसअघि सरकार सञ्चालन ताका नीति निर्माणमा देखिएका समस्याहरूलाई मध्यनजर गर्दै संसद्मा आवाज उठाएर परिमार्जन गर्नुपर्ने बताएका छन् । सांसद जनार्दन शर्मा, गगन थापा, राजेन्द्र लिङ्देन, रवि लामिछानेले अब बन्ने सरकार स्थिर र जनमुखी हुनुपर्नेमा जोड दिनुभएको छ । शर्माले अब पहिलो चरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपतिमा माधव नेपाल वा रामचन्द्र पौडेल हुनुपर्ने दाबी गर्नुभयो ।
जनताले राजनीतिमा लामो समयदेखि होमिएका केही पुराना अनुहारलाई विस्थापित गरेका छन् । यो समय सांसदहरूका लागि अर्को अग्निपरीक्षा पनि हो । अझै जनता र मुलुकको पक्षमा सुदृढ काम गर्न नसके पाँचवर्ष पछिको राजनीतिक परिवेश फरक बन्ने पक्का छ ।