काठमाडौं । आजका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । नेकपाको शुक्रबार बस्ने स्थायी समिति बैठकको तयारीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली लाग्नुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित गर्नुपरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रीहरूलाई यसअघि आज साँझ बैठक बस्ने सूचना दिइएको थियो । मन्त्रिपरिषद् बैठक अब शुक्रबार बस्ने भएको छ ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने तयारी गरेको छ । साथै अन्य महत्वपूर्ण नियुक्ति र सरकारको प्रवक्ता समेत तोक्ने तयारीमा प्रधानमन्त्री रहेको बताइएको छ ।
गत शुक्रबार सूचना तथा सञ्चारमन्त्री र सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएसँगै सरकारको प्रवक्ता पद खाली छ । अर्थमन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैले सम्हाल्नुभएको छ ।