काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी स्थायी कमिटीको पाँचौ बैठकमा प्रस्तुत गर्ने प्रस्ताव बुधबार तयार पारेका थिए । त्यसमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)
कम्प्याक्ट संशोधनसहित संसदबाट अनुमोदन गर्ने प्रस्तावसमेत अगाडि सारेका छन् ।
‘उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधनसहित अनुमोदन गर्ने’, प्रस्तावमा भनिएको छ ।
तीनपटक संघीय संसद सचिवालयमा दर्ता भए पनि एमसीसी कम्प्याक्ट अनुमोदन भएको छैन । एमसिसीलाई लिएर दलहरूबीच विवाद भएपछि त्यो अनुमोदन हुन नसकेको हो ।
त्यस्तै, एमसिसी कम्प्याक्ट र यससम्बन्धि कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गरिने अध्यक्षद्वयको प्रस्तावमा उल्लेख छ ।
एमसिसीबारे अध्ययन गर्न नेकपाले गठन गरेको कार्यदलले यसअघि नै बुझाएको प्रतिवेदनमाथि पार्टी कमिटीमा छलफल गर्न लागिएको हो । कार्यदलले संशोधन र परिमार्जन गरेर मात्रै अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ ।
नेपाल सरकार र अमेरिकी संस्था एमसिसीबीच २९ भदौ ०७४ मा एमसिसी कम्प्याक्टमा हस्ताक्षर भएको थियो । जसमा अमेरिकाले ५० करोड डलर अनुदान दिने र नेपालले १३ करोड डलर लगानी गर्नुपर्ने उल्लेख छ ।