एजेन्सी । भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय वार्ता हुनसक्ने बताइएको छ ।
सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को बैठकमा भाग लिन मस्को पुगेका दुवै देशका मन्त्रीबीच सीमा तनाव साम्य पार्नेबारे छलफल हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत जुनमा भारत र चीनका सैनिकबीच घम्साघम्सी भएपछि चर्केको भारत–चीन सीमा विवाद थप बल्झिँदै गएको छ ।
सो भिडन्तमा भारतका २० जना सैनिक मारिएका थिए । अहिलेको सीमा विवादलाई गत ४५ वर्षयता भारत र चीनबीच भएको सबैभन्दा जटिल विवादको रुपमा लिइएको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका चिनियाँ समकक्षी वेई फेंगेबीच भेट भएको तीन दिनपछि आज दुई विदेशमन्त्रीबीच भेट हुन लागेको हो ।