काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग समानुपातिक तर्फबाट सांसद बन्ने उम्मेदवारहरूको नामावली मागेको छ । बिहीबार आयोगले समानुपातिक तर्फबाट उम्मेदवार निर्वाचित गराउनका लागि राजनीतिक दलहरूलाई पत्राचार गरेको हो ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवार मध्येबाट समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्राथमिकता क्रमको आधारमा उम्मेदवारको नाम सिफारिस गरी पठाउन पत्राचार गरिएको आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
राजनीतिक दलको केन्द्रीय समिति वा सो सरहको समितिले बन्दसूचीबाट उम्मेदवारको नाम सिफारिस गरेर पठाउन पत्राचार गरिएको उहाँले बताउनुभयो । दलहरूले यही मंसिर २४ गतेसम्म आयोगले मागे अनुसारको विवरण पठाउनुपर्नेछ ।
समानुपातिक तर्फ ३ प्रतिशत थ्रेस होल्ड कटाएर समानुपातिक तर्फ सिट पाएका दलहरूलाई सो सिटमा उम्मेदवार निर्वाचित गर्न यसअघि बुझाएको बन्दसूचीबाट नाम छनौट गरेर पठाउन पत्राचार गरिएको हो । दलहरूले आफूले पाएको समानुपातिक सिटमा विभिन्न समानुपातिक समावेशी क्लष्टरबाट प्रतिनिधित्व हुनेगरी उम्मेदवार छानेर आयोगमा पठाउनुपर्ने आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आयोगबाट अधिकांश राजनीतिक दलले सो बारेको पत्र बुझेका छन् । राजनीतिक दलबाट विवरण प्राप्त भएपछि त्यसको रुजु गरिने र विवरण नमिलाई पठाएको खण्डमा फेरी २ दिनभित्र विवरण बुझाउनका लागि पत्राचार गरिने प्रवक्ता वाग्ले जानकारी दिनुभयो। अबको एक साताभित्र राजनीतिक दलहरूका समानुपातिक तर्फका सांसदहरू निर्वाचित हुने उहाँले बताउनुभएको छ ।
राजनीतिक दलहरूले महिला, आदिवासी जनजाति, खसआर्य, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनेगरी यसअघि आयोगमा बुझाएको बन्दसूचीबाट समानुपातिक तर्फबाट सांसद छनौट गर्नुपर्ने हुन्छ ।