गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेका छन्।
यस्तैे तानसेनका जनप्रतिनिधि सहित एकै दिन पाल्पामा २८ जना कोरोना संक्रमीत थपिएका छन् । संक्रमीतहरु रम्भा गाउँपालिकाका ९ जना र बाकी १९ जना तानसेन नगरपालिकाका रहेका छन । योसँगै पाल्पामा संक्रमितको संख्या ६ सय ४२ पुगेको छ।
यता पर्सा, बारा र रौतहटमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको गएराति आएको रिपोर्टमा तीन जिल्लाका १६ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभयो।
संक्रमण देखिनेमा ६ वर्षकी बालिकादेखि ७४ वर्षका वृद्धसम्म रहेका छन् । अस्पतालमा २९२ जनाको स्वाब परीक्षण गर्दा पर्साका ७, बाराका ७ र रौतहटका २ जनामा संक्रमण पुष्टि भएको हो ।