काठमाडौँ – काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो पारेर जनजीवन सामान्य बनाउने प्रयास गरिएको छ । उपत्यकाका तीन प्रमख जिल्ला अधिकारीहरुले तीन हप्तासम्म जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेका हुन्।
प्रशासनको पछिल्लो निर्णय अनुसार काठमाडौँ उपत्यकामा भोलि बिहीबारदेखि पसल व्यवसाय खुल्ने भएको छन्। यस्तै सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छन्।
उपत्यकामा बिहीबारदेखि जोर विजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा आउने भएका हुन्। अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।
निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ ।
यात्रुलाई मास्क अनिवार्य गरिएको छ । चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । सवारी साधनको ढोकामा स्यानिटाइजर हुनुपर्छ भने दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्छ ।
यस्तै भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर चलाउन पाइनेछ । मालबाहक सवारी साधनमा भने जोर विजोर प्रणाली लागू हुने छैन ।
उपत्यकामा अत्यावश्यक वस्तु तथा सेवाका पसलहरु अब साँझको समयमा पनि खुल्ने भएको छन् । बिहान ११ बजेसम्म खुल्न दिइएका पसलहरु अब बेलुका ५ देखि ७ बजेसम्म खुला गर्न पाइने छ। ।
खाद्यवस्तु, दूध, दुधजन्य पदार्थ, फलफूल तरकारी माछा मासु पसल विहान ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछन् ।
फुटपाथ र ठेलाको व्यापार पनि खुला गरेको छ । योसँगै स्टेशनरी, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खुला हुने भनिएको छ।
सवारी साधन मर्मत गर्ने वर्कसपहरु हरेक दिन विहान ८ देखि बेलुका ८ बजेसम्म खुल्नेछ । सपिङ मल, फेन्सी र कपडा पसल, जुत्ता, कस्मेटिक पसल सोमबार बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।
भाँडा र भान्साका सामान बेच्ने पसल आइतबार, मंगलबार र शुक्रबार खुल्नेछन् भने फर्निचर र अटोमोवाइलसम्बन्धी पसल सोमबार र बुधबार मात्र खुल्नेछ ।
यस्तै निर्माण सामग्रीका पसल हरेक दिन दिउँसो २ बजेदेखि ७ बजेसम्म खुला रहनेछ । टेक अवे र होम डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
सहकारी संस्थाहरु ११ देखि ३ बजेसम्म खुल्नेछन् । उपत्यकामा उद्योग कलकारखाना खुला गर्न पनि दिइएको छ । तर कामदारलाई खाने बस्ने व्यवस्था गरेर उद्योगमै क्याम्पमा राख्नुपर्नेछ र जनस्वास्थ्यका मापदण्डको पालना गराउनुपर्नेछ ।
पीपीई सेट र स्वास्थ्य सामग्री उद्योगले व्यवस्था गर्नुपर्नेछ । तर उपत्यकमा अझै खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न प्रतिबन्ध गरिएको छ ।
धार्मिक, साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अरु गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रंस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि सञ्चालन गर्न रोक लगाइएको छ ।