Aug 23 2026 | २०८३, भाद्र ७ गते

२०८३, भाद्र ७ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम पदार्थको मूल्य नघटाउने अडानमा आयल निगम, उपभोक्ता चरम मारमा (खासखबर)

पेट्रोलियम पदार्थको मूल्य नघटाउने अडानमा आयल निगम, उपभोक्ता चरम मारमा (खासखबर)

  • शनिवार, मंसिर १७ २०७९

  • 762
    SHARES

  • पेट्रोलियम पदार्थको मूल्य नघटाउने अडानमा आयल निगम, उपभोक्ता चरम मारमा (खासखबर)

    काठमाडौं । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहन्छ । नेपालमा पनि अन्तर्राष्ट्रिय बजारमा जस्तै मूल्यको समायोजन हुनुपर्ने हो । तर नेपालको अवस्था भने अलिक फरक छ । किनकि नेपालमा अन्तर्राष्ट्रिय बजारबाट मूल्य परिवर्तन भएर आएपनि तत्काल समायोजन हुने क्रम कम रहन्छ । नेपाल आयल निगमले अर्बौं रुपैयाँ भारतीय आयल कर्पोरेसनलाई बक्यौता तिर्न बाँकी रहेको भन्दै बढेर आएको मूल्य बढाउन हतारमा बढाउने गरेपनि घटेर आएको मूल्य समायोजनमा हिचकिचाउने गर्दछ । यसले गर्दा आम उपभोक्ता चरम मारमा परेका छन्।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपनि नेपाल आयल निगमले पछिल्लो समय उपभोक्ताको ढाड सेक्नेगरी निर्णय गर्न थालेको छ । लामो समयदेखि महँगोमा तेल किनेर सस्तोमा बेच्दै आएको निगमले पछिल्लो समय भने सस्तोमा किनेर महँगोमा बेच्न थालेको हो । निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)सँग पेट्रोलियम पदार्थ किन्ने गरेको छ । आईओसीसँग तेल किन्दा प्रत्येक १५–१५ दिनमा मूल्यसूची आउने गर्छ । जसअनुसार, पछिल्लो २ महिनामा भारतबाट ४ पटक पेट्रोलियम पदार्थको खरिद लागत घटेर आइसकेको छ । तर, नेपाल आयल निगमले यसबीचमा एक पटक पनि बिक्री मूल्य घटाएको छैन ।

    जसअनुसार यतिबेला नेपाली बजारमा पेट्रोलको मूल्य १ सय ८१ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ७८ रुपैयाँ, खाना पकाउने एलपि ग्यासको मूल्य १८ सय रुपैयाँ निर्धारण छ । फेरी बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । तर निगमले अहिले मूल्य नघटाउने बताइसकेको छ । नयाँ आएको सूचीअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ, ग्यासको हकमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।
    नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ र डिजेलमा ५३ पैसा नाफा रहेको छ । निगमले विगत ३ महिना पहिलेदेखी अर्थात् गत भदौ १६ गते देखी पेट्रोलियम पदार्थको मूल्य बढेर आएपनि समायोजन नगरिएकोले अहिले घटाउन पनि नसकिने बताएको छ । त्यतिबेला बढेर आएको मूल्य समायोजन नगर्दा निगमले मासिक १० अर्ब बढी नोक्सानी बेहोर्दा ३३÷३४ अर्ब बक्यौता पुगेको भन्दै अहिले त्यसकै भारी निगमलाई परेकोले मूल्य घटेर आएपनि समायोजन गर्न नसकिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्याय बताउनुहुन्छ ।

    उहाँले निगम गत वर्ष ५०÷५५ अर्ब ऋणमा पुगेकोमा अहिले केही सुधार भएर २७ अर्बमा झरेको भन्दै अन्तर्राष्ट्रिय बजारमा केही सुधार भएको खण्डमा यो आर्थिक वर्षमा ऋणमुक्त हुने अपेक्षा निगमको रहेको बताउनुभयो ।

    खास नेपालमा उपभोक्ताले किन महँगो डिजेल पेट्रोल खरिद गर्न बाध्य छन् त ? राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, वरिष्ठ अर्थविद् दीपेन्द्र बहादुर क्षेत्रीले निगममा हस्तक्षेपकारी भूमिका बढी हुँदा यो समस्या आएको भन्दै पारदर्शीताकको आवश्यकता औँल्याउनुभयो । यस्तै उहाँले अन्तर्राष्ट्रिय बजारमा रुस युक्रेनको युद्धले पनि प्रभाव पारेको भन्दै आगामी दिनमा यसको सीमा यहाँ पुग्छ, भनेर भन्न सकिने अवस्था नरहेको बताउनुभयो ।

    तसर्थ नेपालमा पेट्रोलियम पदार्थको एकद्वार प्रणालीबाट जारी खरिद र बिक्री वितरणले गर्दा पनि महँगो र मारमा पारेको छ । यसले गर्दा पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने आवश्यकता छ । अनि विद्युतीय र सौर्य ऊर्जालाई प्रोत्साहन गर्दै पेट्रोलियम पदार्थको विकल्प खोज्दै खोज्नुपर्ने आवश्यकता छ । यसले आम सर्वसाधारण हालको मारबाट जोगिने र पेट्रोलियम पदार्थ खरिदमा बाहिरिने खर्बौं रकम स्वदेशमै रोक्नतर्फ राज्यले ठोस कदम चाल्न पनि आवश्यकता देखिन्छ ।


    शनिवार, मंसिर १७ २०७९०८:२२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij