काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक विवाद समाधान गर्ने सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यमा जुुटेका छन् ।
साउन १३ यता रोकिएको स्थायी कमिटी बैठक भदौै २६ गते पुनः बस्ने तय भएसँगै ओली–प्रचण्ड विवाद समाधान गर्ने उपायसहितको संयुक्त प्रस्तावकोे गृहकार्यमा लागेका हुन् । त्यसका लागि अध्यक्षद्वयबीच सोमबार बिहान बालुवाटारमा झण्डै डेढ घण्टा छलफल भएको थियो ।
सोमबार ओली प्रचण्डको भेटवार्तापछि २६ गतेलाई स्थायी समिति बैठक बोलाइएको हो । त्यस्तै, आज दुई अध्यक्षबीच पुनः भेटवार्ता गरेर प्रस्तावलाई अन्तिमरूप दिने तयारी गरेको दुवै नेता निकट स्रोतले जनाएका छन् ।
दुवै नेताले प्रस्तावको मोडेलबारे आफ्नो सचिवालयका सदस्यहरुलाई समेत जानकारी दिएका छैनन् । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले स्थायी समिति बसेपछि मात्रै प्रस्ताव कस्तो आउँछ भन्ने थाहा हुने बताउनुभयो ।
कार्यदलको प्रतिवेदन र पार्टी सचिवालय बैठकमा भएको छलफलका आधारमा अध्यक्षद्वयले प्रस्ताव तयार पार्नसक्ने पार्टी महासचिव विष्णु पौडेलले बताउनुभयो ।
महासचिव पौडेलको नेतृत्वमा साउन ३० गते गठित ६ सदस्यीय विवाद समाधान सुझाव कार्यदलले भदौ ६ गते १७ बुँदे सुझाव अध्यक्षद्वयसमक्ष पेस गरेको थियो ।