काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गए रातिको भूकम्पमा परी मृत्यु भएका छ जनाको परिवारहरूलाई एक लाख ५० हजार राहत दिने घोषणा गर्नुभएको छ ।
बुधवार(आज) बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार राहतको दिने बताउनुभएको हो ।
आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उहाँले परिवारलाई भेटेर दिनुभएको थियो । त्यसैगरी उहाँले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरूका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गर्नुभएको छ ।
गए रातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका छ जनाको ज्यान गएको छ भने अरू सात जना गम्भीर घाइते भएका छन् । डोटी निवासी पूर्वमन्त्री आले आसन्न मङ्सिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि हुनुहुन्छ ।