काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजाराम कार्कीमाथि आज काभ्रेको बनेपामा भौतिक आक्रमण भएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पत्रकार कार्कीको अहिले धुलिखेल अस्पतालमा उपचार गरिएकोे छ । आक्रमणकारी भक्तपुरको सूर्यविनायक नगरपालिका –१० का उद्धव कार्की रहेको पत्रकार पारिवारिक स्रोतले जनाएको छ ।
यसैबीच, पत्रकार कार्कीमाथि भएको आक्रमणप्रति पत्रकारका विभिन्न संगठनले भत्र्सना गरेका छन् ।
प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले कार्कीमाथि भएको आक्रमणको भत्र्सना गर्नुभएको छ ।
‘कुनै पनि पत्रकारलाई यो वा त्यो बहानामा आक्रमण गर्ने कार्यको प्रेस युनियन भत्र्सना गर्दछ’, नेपाली नेटवर्कसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारले निर्बाध रुपमा काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गर्दछु ।’
साथै, नेपाल पत्रकार महासंघका सचिव शितल महतोले पनि पत्रकार कार्कीमाथिको आक्रामण गर्नेमाथि कारबाहीको माग गर्नुभएको छ ।
‘राससका वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भौतिक आक्रमण भएको छ’, उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० निवासी उद्धव कार्कीको पहिचानसमेत भइसकेको हुँदा उनलाई तत्काल पक्राउगरी कारबाहीको लागि जोडदार माग गर्दछु ।’