काठमाडौं । कोरोनाको जोखिमका कारण अन्योलमा परेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा छोट्याउने सहमति भएअनुसार आज रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ। यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् ।
आइतबारको रथ तान्ने कार्यक्रममा स्थानीयहरु सहभागी नगराइने भएको छ। रथ तानिने क्षेत्रको केही चोकमा स्थानीयले भगवानलाई चढाउन ल्याएको फल, प्रसाद ज्यापु समाजका स्वयं सेवकहरुले चढाइदिने व्यस्था रहेको ज्यापु समाजले जनाएको छ।
स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ भने अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ। दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ ।
यससँगै रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज आइतबार छ्वयलाभू र भोलि सोमबार भुज्या मनाउनेछन् ।
यसपालि साङ्केतिक रूपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म एकैचोटी रथलाई तानिन लागेकोले गाः बहाल जात्रा व्यवस्थापन समिति, वछुत्वा नुगः जात्रा व्यवस्थापन समिति, लंगया बुंगद्यः जात्रा व्यवस्थापन समिति र जावलाख्यः जात्रा व्यवस्थापन समितिका ४०, ४० जना गरेर १६० जनाले रथ तान्ने भएका छन् ।
रथ तान्नको लागि उनीहरु आज दिउँसो ३ बजे गाः बहालमा भेला हुने छन् । अवस्था सामान्य हुँदा पाटन शहर पूरै घुमाइन्थ्यो तर यो वर्ष रथ जिर्ण रहेको र कोरोना भाइरस महामारी रहेको हुनाले पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि लगेर जात्रा बिसर्जन गरिँदैछ।