काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।
उहाँले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री हुनुपर्ने आफ्नो पार्टीको बटमलाइन भएको बताउनुभयो।
बुधबार रिपोर्टर्स क्लब रुपन्देहीमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार–प्रसार समितिका संयोजकसमेत रहेका डा. महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने दाबी गर्नुभयो ।
नेकपाकालीन सरकारमा नागरिकले धेरै दुःख पाएको भन्दै उनले गफ लगाउनेलाई विश्वास गर्नुभन्दा नबोलेर काम गर्नेलाई मूल्यांकन गर्नुपर्ने बताउनुभयो।
एमालेको घोषणापत्रमा पाँच वर्ष अगाडिकै योजना भएको भन्दै महतले घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउने भन्दा नयाँ केही नभएको टिप्पणी गर्नुभयो ।
एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको एउटै पार्टीभित्रको अविश्वासका कारण विभाजन हुन पुगेको बहुमतको सरकार भंग भएपछि बनेको नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि कोभिड नियन्त्रणलगायत काम गरेको उहाँको भनाइ थियो ।
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा पनि रेल सञ्चालन बुँदा समेटिएको छ नि ? एमालेले सञ्चालन गर्ने र कांग्रेसले ल्याउने भनेको रेल एउटै हो कि फरक ? भन्ने पत्रकारको जिज्ञासामा प्रवक्ता डा. महतले भन्नुभयो, ‘हामीले चलाउने भनेको आन्तरिक यातायातको लागि दैनिक चल्ने हो, खर्च धान्न नसकिने गरी चलाउन आवश्यक छैन । हामी ऋण काढेर रेलमा लगानी गर्नै पक्षमा छैनौं ।’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आगामी दिनमा संघिय निर्वाचनमा कांग्रेसका महिला नेतृहरूलाई प्रत्यक्षमा उठाउने गरी अगाडि बढ्ने जनाउनुभयो ।