काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गर्नुभएको छ।
आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हावी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिमा व्यक्तिवादी हावी भएको छ। ओलीले व्यक्ति केन्द्रित राजनीति ९सत्ता० चलाए, त्यो अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए ।’
ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोशिस गरेको बताउँदै उहाँले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाउनुभयो। आफुहरुले ओलीलाई सुधार्न निकै प्रयास गरेपनि नसुध्रेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सन्चालन गरे । हामीले धेरै सुधार्ने कोशिस गर्दा पनि सुध्रेनन् ।’ नेपालले पाँच दलीय गठबन्धन अग्रगामी गठबन्धन भएको बताउनुभयो ।
उहाँले प्रदेशमा प्रतिगमनकारी शक्तिको विरुद्धमा लड्न आफ्ना नेताहरुले गरेको योगदानको बारेमा चर्चा समेत गर्नुभयो ।