काठमाडौं । नेपाल आयल निगमले भारतबाट पटक–पटक मूल्य समायोजन भएर आउँदा पनि पेट्रोलियम पदार्थको मूल्य नघटाएर जनताको ढाड सेक्ने कार्य गरेको छ । नागरिकले चाडबाडमा थप सहुलियत पाउनुपर्नेमा महंगीको मार खेपेका छन् । तिहार आउनै लाग्दा पनि आयल निगमले इन्धनको मूल्य समायोजन गर्ने छाँट देखाएको छैन । उल्टै सरकारी मातहतको सार्वजनिक संस्थान नाफा घाटाको हिसाब गरेर बसेको छ । डिजेल, मट्टितेलमा भएको घाटा पूर्ति गर्न निगमले पेट्रोलमा अधिक मुनाफा लिइरहेको छ । स्वचालित मूल्य प्रणाली सुचारु गरेको निगमले अहिले भने त्यो प्रश्नमा ढाकछोप गर्न खोजिरहेको छ । निगमका प्रवक्ता विनितिमणि उपाध्यायले त्यतिबेला स्वचालित मूल्य प्रणाली पूर्ण रुपमा लागू नभएको भन्दै पटक–पटक नागरिकलाई राहत दिइरहेको भनी बचाउ गर्नुभयो ।
प्रत्येक १५–१५ दिनमा आईओसीले निगमलाई अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नयाँ मूल्यसूची पठाउने गर्छ । जसअनुसार, पछिल्लो ५ पटक प्राप्त मूल्य सूचीअनुसार निगमले घटेर आउँदा घटाउन आनाकानी गर्दै आएको हो । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर कटौती पनि गरेको छ । आईओसीसँग पेट्रोलियम पदार्थ किनेर भुक्तानी बाँकी रहेको रकमको ब्याज नै साढे १ अर्ब रुपैयाँ हाराहारी रहेको निगमको भनाइ छ । ऋणको भार कम गर्ने भन्दै उच्च नाफा भएपनि निगमले गत अक्टोबर १ मा आईओसीबाट प्राप्त सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेन । इन्डियन आयल कर्पोरेशनको ३७ अर्ब ऋण तिर्न बाँकी नै रहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
लामो सार्वजनिक बिदाको बाहानामा मूल्य घटेर आउँदा निगमले मूल्यसूची सार्वजनिक नगरेपनि बढेर आउँदा भने लगत्तै सूची सार्वजनिक गर्ने गर्छ । यही क्रमलाई जारी राख्दै १५ अक्टोबरमा प्राप्त सूची भोलिपल्ट नै सार्वजनिक गर्यो । नयाँ मूल्यसूचीअनुसार डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । मूल्य घट्दा नघटाउने र बढ्दा बढाइहाल्ने प्रवृत्ति तथा आन्तरिकरुपमा उच्च सेवा सुविधाले पछिल्लो समय निगममा मनोमानी मौलाइरहेको प्रष्ट हुने सरोकारवाला बताउँछन् ।