काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकारले जनताको हितका लागि सामान्य भन्दा सामान्य काम पनि सरकारले गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
बिहीबार सामाजिक संजाल फेसबुकमा सांसद संग्रौलाले कृषकहरुले मल नपाएर बालिनाली तहसनहस हुने अवस्थामा पुग्दा पनि सरकारले समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै कडा आलोचना गर्नुभएको छ ।
‘सरकार अब जनताको सरकार रहेन। सामान्य भन्दा सामान्य कार्य पनि सरकारले गर्न सकेन जनताको हितको लागि । कृषकहरुले रासायनिक मल नपाएर बालिनाली तहसनहस हुन पुगेको छ’ उहाँले लेख्नुभएको छ, ‘११ अरब रुपैयाँ मल अनुदानका लागि सरकारले बजेट छुट्टाएको छ । समयमा सरकारले जनतालाई मल उपलब्ध नगराउनुको पछाडी चलखेल गर्नकै लागि नै टेन्डरमा ढिलासुस्ती गर्नु एकातर्फ भने अर्कोतर्फ पहुँचको आधारमा क्षमताहिन कम्पनिहरुलाइ आपुर्तिको ठेक्का नै हो ।’
यो र त्यो बहानाले किसानलाई मारमा पार्न सरकार उद्दत रहेको सांसद संग्रौलाको टिप्पणी छ । किसानको आवश्यक्ता मात्र नभई राष्ट्रिय उत्पादनसँग जोडिएको कुरा भएकाले मलको अविलम्ब व्यवास्था गर्न आग्रह समेत उहाँले सरकारलाई गर्नुभएको छ । हैन भने कुर्सीमा टाँसिरहनुको कुनै अर्थ नहुने पनि उहाँले उल्लेख गर्नुभएको छ ।