Aug 25 2026 | २०८३, भाद्र ९ गते

२०८३, भाद्र ९ गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालयमा आज बहुप्रतिक्षीत दुई विषयमा छलफल हुने

नेकपा सचिवालयमा आज बहुप्रतिक्षीत दुई विषयमा छलफल हुने

  • बिहिवार, भाद्र १८ २०७७

  • 1.2K
    SHARES

  • नेकपा सचिवालयमा आज बहुप्रतिक्षीत दुई विषयमा छलफल हुने

    काठमाडौं । लामोसमयपछि बस्न लागेको नेकपा सचिवालय बैठकमा आज मुख्य गरेर बहुप्रतिक्षीत दुई विषयमा छलफल हुनेभएको छ ।

    संघीय संसद् सदस्य नरहेका अर्थमन्त्री डा युवराज खतिवडाको म्याद यही भदौ २१ गते सकिने भएकाले उहाँलाई निरन्तरता दिने की अर्को नेतालाई मनोनयन गर्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।

    खतिवडाको सट्टामा पार्टीका उपाध्यक्ष बामदेव गौतमले समेत दावी गरेको र पार्टीले यसअघि पनि निर्णय गरिसकेकालाई उहाँलाई ल्याउने विषयमा बैठकमा नेताहरु विभाजित हुने देखिएको छ ।
    खतिवडालाई नै मन्त्रीमा निरन्तरता दिने हो भने सरकारले २० गतेअघि नै राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेर राष्ट्रपतिले मनोनित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

    नेपाली रेडियो नेटवर्कबाट केही दिन अगाडि प्रसारण भएको अन्तर्वार्तामा प्रधनमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने विषय अन्त्य भइसकेको र खतिवडाले नै राम्रो काम गरिरहेको बताउनुभएको थियो ।

    उहाँको अभिव्यक्ति सार्वजनिक भएको केही समयमै उपाध्यक्ष गौतमले आफुलाई राष्ट्रिय सभामा लैजाने सचिवालयको निर्णय रद्ध नभएको स्पष्ट पार्दै त्यसको कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

    फागुन १४ मा बसेको सचिवालयको बैठकले गौतमलाई राष्ट्रिय सभामा पठाउने औपचारिक निर्णय गरेको थियो भने बैठक सकिएको केही बेरपछि नै प्रधानमन्त्रीले उक्त निर्णय आफूले नमान्ने बताउनु भएको थियो ।

    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल गौतमलाई राष्ट्रिय सभामा लैजानु पर्ने पक्षमा हुनुहुन्छ ।

    अध्यक्ष ओलीसहित सचिवालय सदस्यद्धय ईश्वर पोखरेल र रामबहादुर थापा मात्रै खतिवडालाई निरन्तरता दिने पक्षमा रहेको नेताहरुले जनाएका छन् ।

    गौतमलाई राष्ट्रिय सभामा लैजाने बाहेकका विकल्पका बारेमा छलफल गर्न प्रधानमन्त्री ओलीले हिजो बेलुका उहाँसँग छलफल पनि गर्नुभएको छ ।त्यसैगरी प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि गौतमको विषयमा छलफल गर्नुभएको जनाएको छ ।

    ओलीले यसअघि झै अहिले पनि गौतमलाई प्रतिनिधि सभाको निर्वाचन लड्नका लागि तयार रहन आग्रह गर्नुभएको गौतम निकट श्रोतले जनाएको छ ।

    गौतमले भने अहिले निर्वाचन हुने संभावना न्युन रहेकाले आफु निर्वाचनको पक्षमा नरहेको र सचिवालयको निर्णय अनुसार नै राष्ट्रिय सभामा लैजानु पर्ने जवाफ दिने गर्नुभएको छ ।

    गौतमको पछिल्लो अडान र आकांक्षाका कारण प्रधानमन्त्री ओली थप दवावमा पर्र्नु भएको छ भने नेकपा भित्रको विवादले नयाँ मोड लिएको छ ।आजको सचिवालय बैठकमा पार्टीभित्रको समस्या समाधान कार्यदलको प्रतिवेदनमाथी पनि छलफल थाल्ने भनिएको छ ।

    तर गौतमको विषय तत्कालै टुंग्याउनु पर्ने र बढी चर्चा र चासोको विषय भएकाले आजको बैठकमा कार्यदलको प्रतिवेदनमाथी गहिरो छलफल हुने संभावना कम देखिएको छ ।

    नेकपा सचिवालय बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।

     


    बिहिवार, भाद्र १८ २०७७०८:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij