काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंसिर ४ को निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। शनिबार(आज) सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उहाँले आफू उम्मेदवार नबन्ने घोषणा गराउनुभएको हो।
उहाँले युवा पुस्तालाई अघि बढुन् भन्ने अभिप्राय राखेर प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेको बताउनुभयो। आफूले हार्ने डर वा टिकट नपाइएला भन्ने डरले प्रतिस्पर्धामा नउत्रिने निर्णय नगरेको उहाँको भनाई छ।
उहाँ सिन्धुपाल्चोकबाट उम्मेदवार बन्दै र निर्वाचित हुँदै आउनुभएको थियो। उहाँले तीन पटकसम्म सिन्धुपाल्चोक–१ बाट निर्वाचित हुँदै जनताको सेवा गर्न पाएको बताउनुभएको छ।
सिन्धुपाल्चोक–१ गठबन्धनभित्र माओवादी केन्द्रको भागमा परेको छ। उक्त क्षेत्रमा माओवादी केन्द्रले माधव सापकोटालाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ।
सापकोटाले संसद्को भूमिकामा नभएपनि देश र जनताका लागि आफू सक्रिय हुने बताउनुभयो। उहाँले देश र जनताको सेवाका लागि अन्य भूमिका गर्न सक्ने भन्दै तीन पटक लगातार जितेकाले यसपटक अलग भएको दाबी गर्नुभयो ।
सापकोटा २०६८ मा सूचना तथा सञ्चारमन्त्री हुनुभएको थियो। पछि वन तथा भूसंरक्षण मन्त्री हुनुभएका उहाँ २०७४ सालमा प्रतिनिधि सभा निर्वाचित हुँदै सभामुख बन्नुभएको हो ।