Aug 24 2026 | २०८३, भाद्र ८ गते

२०८३, भाद्र ८ गते
  • यो साता चर्चामा :
images

विश्व मुटु दिवस : अल्पायुमै हृदयाघातले ज्यान गुमाउनेको संख्या बढ्दो, दैनिक शारीरिक अभ्यास आवश्यक (खास खबर)

विश्व मुटु दिवस : अल्पायुमै हृदयाघातले ज्यान गुमाउनेको संख्या बढ्दो, दैनिक शारीरिक अभ्यास आवश्यक (खास खबर)

  • बिहिवार, आश्विन १३ २०७९

  • 589
    SHARES

  • विश्व मुटु दिवस : अल्पायुमै हृदयाघातले ज्यान गुमाउनेको संख्या बढ्दो, दैनिक शारीरिक अभ्यास आवश्यक (खास खबर)
    काठमाडौं । आज विश्व मुटु दिवस मनाइएको छ । मटुरोग अहिले संसारभर अकालमा मृत्यु हुने रोग मध्ये एक नम्बरको रोग भएको चिकित्सकले बताएका छन् । नेपालमा पनि पछिल्लो समय मटुरोगका कारण अल्पायुमै ज्यान गुमाउनेको संख्या बढ्दो छ । धनी देश र धनी मानिसलाई मात्र लाग्ने भनिएको मुटु रोग अहिले जुनसुकै देश र वर्गका व्यक्तिलाई पनि लाग्ने गरेको छ । नेपालमा मुटु रोग मुख्य रोगका रुपमा देखा परेको छ र मुटुरोगीको संख्या बढिरहेको छ ।  
     
    मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटाका अनुसार अहिले मुटुरोगले अल्पायुमा ज्यान गुमाउनेहरू बढिरहेका छन् । मुटुलाई कसरी जोगाउने त भन्ने जिज्ञासामा देवकोटाले स्वस्थ आहार बिहार, नियमित व्यायाम , प्रेसर ,सुगर आदि रोगबारे आफूलाई सधैँ अपडेट राख्नुपर्नेमा जोड दिनुहुन्छ । अव मुटु रोग बढ्दो उमेरको मात्र रोग नरहेको भन्दै बिशेषगरि युवावस्थामा हुने हृदयाघातको जोखिम उच्च रहेको डाक्टर देवकोटा बताउनुहुन्छ ।
     
    विश्व मुटु महासंघका अनुसार विश्वभर बर्षेनी एक करोड ८६ लाख मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ । जसमा विकासोन्मुख र अविकसित देशहरूमा मुटुरोगबाट मृत्यु हुनेको संख्या ८० प्रतिशतभन्दा बढी रहेको छ । 
     
    सकेसम्म त रोग लाग्नै नदिनु र लागिहाल्यो भने मुटुरोगीले कस्तो खालको सावधानी अपनाउँदै जाने भन्नेबारे अर्का मुटु रोग विशेषज्ञ डाक्टर ओममुर्ति अनिलले औषधी नटुटाईकन खान , डाक्टरसँग नियमित चेकअप गर्न र जीवनशैलीमा सचेतना अपनाउन सुझाव दिनुहुन्छ । यी नियम मुटुरोगीले पालना गर्‍यो भने जटिल अवस्था नहुने र अचानक मृत्युबाट पनि जोगिन सकिने उहाँको सल्लाह छ ।
     
    इन्टरभेन्सन कार्डियोलजी मा डीएम गर्नुभएका डा अनिलले अहिले सामाजिक सञ्जालबाट मुटुरोगबारे जनचेतना फैलाइरहनु भएको छ। डाक्टर अनिलले मानिसको शरीर हिँड्नको लागि बनाइएकाले प्रत्येक दिन छिटोछिटो ३ किलोमिटर हिँड्यो भने मुटुरोगको जोखिमबाट बच्न सकिने बताउनुहुन्छ । 
     
    स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिने गरेका छन् ।  नेपालमा अस्पतालहरूको तथ्यांक हेर्दा यो संख्या प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार पछिल्लो ६ वर्षमा हृदयाघातका बिरामी तीन गुणाले बढेको देखिएको छ।  
     
    डाक्टर देवकोटाका अनुसार धूम्रपान तथा मद्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र तनावरहित जीवन  बाँच्न सके मुटु रोगबाट बच्न सकिन्छ । सन् २०३० सम्ममा विश्वभर मुटुरोगबाट मृत्यु हुनेको संख्या बर्षेनी २ करोड ५० लाख सम्म पुग्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ ।
     
    हृदयाघात सबैभन्दा बढी मानिसको मृत्युको कारक हुने पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यसैले स्वास्थ्य जीवनशैली अपनाएर आफ्नो मुटुको सुरक्षा आफै गरौं । 
     


    बिहिवार, आश्विन १३ २०७९०८:२५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij